डन राज्यः जेलबाटै धम्की र असुली धन्दा
काठमाडाैं, १४ भदाै । नेपाल निर्माण व्यवसायी महासंघका तत्कालीन अध्यक्ष शरद गौचनको गोली हानी हत्या गर्ने समूहका नाइके समीरमानसिंह बस्नेतले जेलबाटै धम्की र असुलीको धन्दा चलाएका छन् । सहयोगीहरू परिचालन गरी निर्माण व्यवसायीलाई नै धम्क्याएर उनले पैसा असुली गर्दै आएको खुलेपछि प्रहरीले अनुसन्धान थालेको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले बस्नेतका दुई सहयोगीलाई पक्राउ गरिसकेको छ । फोन गरेर धम्क्याउने धन्दामा संलग्न पवन खड्का र सुरेन नगरकोटीलाई पक्राउ गरेको हो । उनीहरूले समीरकै निर्देशनमा आफूहरूले व्यवसायीहरूलाई धम्क्याएको स्विकारेका छन् ।
दुवैविरुद्ध ठगी, मुलुकी अपराध संहिताअन्तर्गतको आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन)सम्बन्धी कसुरमा मुद्दा दायर गर्न लागिएको छ । बस्नेतविरुद्ध समेत सो मुद्दा चल्ने ब्युरोका एक अधिकारीले बताए । नयाँ पत्रिका दैनिकमा विस्तृत खबर छ ।
