त्रिकोणात्मक टी २० सिरिज अन्तर्गत जिम्बाब्वेलाई हराउँदै इतिहास रच्ने दाउमा नेपाल
१३ असोज २०७६, सोमबार ।
सिंगापुरमा जारी त्रिकोणात्मक टी २० सिरिजमा नेपालले आफ्नो तेस्रो खेलमा मंगलबार जिम्बाब्वेसँग प्रतिस्पर्धा गर्नेछ । सिंगापुरको इन्डियन एसोसियशन मैदानमा हुने खेल नेपाली समय अनुसार साँझ सवा ५ बजेबाट सुरु हुनेछ ।

हरेक टिमले एक अर्का्विरुद्ध दुई दुई खेल खेल्ने भएकाले नेपालले जिम्बाब्वे विरुद्ध मंगलबार दोस्रो खेल खेल्न लागेको हो । प्रतियोगिताको पहिलो खेलमा नेपालले जिम्बाब्वे सँग ५ विकेटको हार बेहोरेको थियो । टी २० मा जिम्बाब्वे विरुद्ध ऐतिहासिक जितको नजिक पुगेर पनि नेपाली टिम चुक्न पुगेको थियो ।

त्यस खेलको अधिकांश भागमा नेपाल बलियो अवस्थामा रहे पनि अन्तिममा लगातार बाउन्ड्री खाँदा नेपाल पराजित हुन पुगेको थियो । जितको नजिक पुगेर पनि हारेको नेपाली टिमले मंगलबार भने त्यसको बदला लिनुका साथै जिम्बाब्वे विरुद्ध टी २० मा पहिलो जित निकाल्ने लक्ष्यमा रहेको छ ।
