१० जेष्ठ २०७८ सोमबार ।
धादिङको थाक्रे गाउपालिका वडा नं. ९ सेरापाखामा सरस्वतीको विशाल मूर्ति एवम् भाषा सङ्ग्रहालयको शिलान्यास गरिएको छ । थाक्रे गाउपालिकाको गौरवको आयोजनाको रुपमा रहेको सरस्वतीको मुर्ति एवम् भाषा सङ्ग्रहालयको भवन निर्माणको कार्य शुरु भएको छ ।

गाउपालिकाका अध्यक्ष रामकुमार आचार्यले सरस्वती मूर्ति ४२ फिटको बनाईने १० फिटको क्षेत्रफलमा सङ्ग्रहालय भवन बन्ने र विभिन्न भाषाका पुस्तकहरु राखिने बताउनुभयो । त्यसबाहेक कमलको फुल र सरस्वती विणासहितको ३० देखि ३२ फिटको मूर्ति बनाई एका पट्टि हाँसको मूर्ति र अर्कापट्टि पुजा मूर्ति बनाईने बताउनुभयो । त्यस्तै गाउपालिका उपाध्यक्ष अम्बिका रुपाखेतीले त्यस क्षेत्रमा पर्यटकीय क्षेत्रका रुपमा विकाश गर्नका लागी पार्क र स्विमिङ पुलको पनि निर्माण हुने बताउनुभयो ।
त्यसैगरी सोमबार नै “हाम्रो मानव सेवा घर” को निर्माण शुरु गरिएको छ । “सडक मानवमुक्त जिल्ला निर्माणको आरम्भः हाम्रो मानव सेवा घर निर्माणको शुभारम्भ” भन्ने नाराका साथ धादिङ जिल्लाभित्र बेवारिसे अवस्थामा रहेका सडक मानवहरुको उद्धार, उपचार एवम् पुनस्र्थापना गर्ने उद्धेश्यले उक्त भवनको निर्माण शुरु गरिएको गाउपालिकाले जनाएको छ ।

थाक्रे गाउपालिका वडा नं. ९ का वडाअध्यक्ष दिल बहादुर भुजेलको अध्यक्षतामा भएको शिलान्यास कार्यक्रममा थाक्रे गाउपालिकाका अध्यक्ष रामकुमार आचार्यको प्रमुख आतिथ्यता र उपाध्यक्ष अम्बिका रुपाखेतीको विशेष आतिथ्यता रहेको थियो । त्यस्तै वडा नं. ८ का वडाध्यक्ष केशव प्रसाद प्याकुरेल, वडा नं. १० का वडाध्यक्ष गोकुल लामिछाने, थाक्रे गाउपालिकाका शिक्षक संगठनका अध्यक्ष सहदेव रेग्मी, धुनिवेशी नगरपालिका शिक्षक संगठनका अध्यक्ष अर्जुन आचार्य लगायतको उपस्थिती रहेको थियो ।






