देश विकास

विकास पत्रकारिता

,

धादिङको थाक्रेमा दोस्रो कोदो दिवस मनाइयो

Share it with you friends

“कोदोबालीको संरक्षण र प्रवर्धन खाद्य तथा पोषण सुरक्षा संवर्धन” भन्ने नाराका साथ सरकारले यस वर्ष दोस्रो राष्ट्रिय कोदो दिवस मनाएको छ।

परम्परागत रूपमा गरिँदै आएको तर हाल कृषकको प्राथमिकतामा नपरेको कोदोको पौष्टिक तथा जैविक पर्यावरणीय महत्वलाई आम समुदायसम्म पुर्याउन समुदाय
स्तरमा विभिन्न चेतनामूलक कार्यक्रम गर्दै कोदो दिवस मनाइएको हो।

कोदो दिवसको अवसरमा जिल्ला कृषि विकास कार्यालय धादिङले थाक्रे गाउँपालिकामा कोदो रोपाइँ कार्यक्रम आयोजना गरेको छ।

थाक्रे गाउँपालिका वडा नं १, भूमेस्थान सानाकिसान कृषि सहकारी संस्था लि को स्थानीय समन्वय तथा कृषि रेडियोको सहकार्यमा कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रममा कोदो खेतीले जमिनको माटो जोगाउन खेल्ने भूमिका, कम भन्दा कम रासायनिक मलको प्रयोग बाट कोदो खेती गर्ने तरीका, कोदोका परिकारले मानव
स्वास्थ्यमा पुर्याउने फाइदा तथा कोदोको व्यावसायिक महत्वका बारेमा छलफल तथा कृषकहरूलाई जानकारी गराइएको थियो।

आफूले परम्परागत रूपमा गर्दै आएको खेतीको महत्वका बारेमा जानकारी पाउँदा कृषकहरू उत्साहित भएका छन्। कोदो रोपाइँ कार्यक्रमका लागि जमिन उपलब्ध
गराउने कल्पना तामाङ आफूले हरेक वर्ष गर्ने गरेको कोदो खेती यति धेरै महत्वको बाली रहेछ भनेर नसोचेको र कोदोको खानेकुरा नियमित खाने नगरेको बताउँदै
आगामी दिनमा कोदो खेती थप विस्तार गर्ने र सकेसम्म कोदोको नियमित सेवन गर्ने बताउनुहुन्छ।

कृषि विकास कार्यालय धादिङका वरिष्ठ कृषि अर्थ विज्ञ प्रेम बहादुर कुँवरका अनुसार कृषि विकास कार्यालयले कोदो लगायतका रैथाने बाली प्रवर्द्धन तथा विस्तारका लागि कार्यालयले हरेक वर्ष विभिन्न कार्यक्रम गर्ने गरेको र गत आर्थिक वर्ष २०८२ ८३ मा ७ लाख बजेट विनियोजन गरिएकोमा आ व २०८३ ८४ का लागि समेत विभिन्न कार्यक्रमहरू सञ्चालन गरिने भएकाले कार्यालयमा सम्पर्क गरि लाभ लिन सकिने बताउनु भयो।उहाँका अनुसार धादिङ जिल्लामा हाल सात हजार तीन सय हेक्टरमा

कोदो खेती हुने गरेको र १ दशमलव १ टन प्रति हेक्टर उत्पादकत्व रहेको छ ।
कोदो रोपाई कार्यक्रममा महादेवबेसी स्वास्थ्य चौकी थाक्रे का प्रमुख झरना केसी ले कोदोका परिकार खाँदा मानव स्वास्थ्यलाई हुने फाइदाका बारेमा कृषकहरूलाई जानकारी गराउनु भएको थियो। उहाँका अनुसार कोदोले मधुमेह नियन्त्रण गर्न मद्दत गर्छ। कोदोमा क्याल्सियमको मात्रा धेरै हुने हुँदा यसले दाँत र हड्डीलाई बलियो बनाउनुका साथै उमेर ढल्किँदै जाँदा हुने हड्डी खिइने समस्या बाट बचाउँछ । कोदोमा पाइने फाइबरले पाचन प्रक्रियालाई राम्रो बनाउँछ र कब्जियतको समस्या हुन दिँदैन। साथै, यो खाएपछि धेरै समयसम्म पेट भरिएको महसुस हुने भएकाले अनावश्यक तौल घटाउन मद्दत पुग्छ।

कोदो फलाम को राम्रो स्रोत हो। यसको नियमित सेवनले शरीरमा हेमोग्लोबिनको मात्रा बढाएर रक्तअल्पता हुनबाट जोगाउँछ।
कोदोमा पाइने एन्टी अक्सिडेन्ट र म्याग्नेसियमले शरीरमा खराब कोलेस्ट्रोल घटाउन र उच्च रक्तचाप नियन्त्रण गर्न मद्दत गर्छ, जसले मुटुसम्बन्धी रोगको जोखिम कम गर्छ।

कार्यक्रममा थाक्रे गाउँपालिका वडा नं १ का अध्यक्ष श्याम सुन्दर थापा, भूमेस्थान सानाकिसान कृषि सहकारीका अध्यक्ष कृष्ण बहादुर थापा, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमका मदन देवकोटा लगायतले कोदो बालीको महत्व तथा व्यावहारिक पक्षका बारेमा आफ्नो धारणा राख्नुभएको थियो।

कार्यक्रममा विभिन्न सञ्चार माध्यमका सञ्चारकर्मी, स्थानीय शिक्षक, अगुवा कृषक तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts