निजी विद्यालयलाई शिक्षामन्त्रीको निर्देशन, ‘मनलाग्दी शुल्क नउठाउनुस ’
काठमाडौं, २१ चैत । शिक्षा, विज्ञान तथा प्रविधी मन्त्री गिरिराजमणि पोखरेलले निजी विद्यालय सञ्चालकहरुलाई मनलाग्दी शुल्क नलिन निर्देशन दिएका छन् ।
निजी तथा आवसीय विद्यालय अर्गनाइजेशन नेपाल केन्द्रीय सचिवालयद्वारा काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री पोखरेलले भने, ‘शिक्षा क्षेत्र मुनाफा कमाउने क्षेत्र होइन, मन्त्रालयको निर्देशिका ऐन, नियममा रहेर शुल्क लिनुस् । यही क्रम जारी रह्यो सरकारले नियमअनुसार कारवाही थाल्छ ।’
विद्यार्थीहरुलाई पुस्तकको भारी बोकाउनु गलत रहेको भन्दै मन्त्री पोखरेलले विद्यार्थीलाई अव्यवहारिक ढंगले पुस्तक किन्न लगाउनु गलत रहेको बताए । उनले सामाजिक न्यायमा आधारित रहेर काम निर्देशन दिएका छन् ।
नियम विपरीत शैक्षिक शुल्क उठाएको गुनासोहरु बढ्दै गइरहेका बेला मन्त्री पोखरेलले यस्ता कार्य तत्काल बन्द गर्न निर्देशन दिएका छन् ।
निजी, सहकारी, र सार्वजानिक तिनै निकायसँग सहकार्य गर्न शिक्षा मन्त्रालय तयार रहेको भन्दै उनले समुदायमा आधारित शिक्षा हुनुपर्ने बताए ।
