प्रत्यक्षतर्फको मतपरिणाम अन्तिम चरणमा
काठमाडौँ । प्रतिनिधि सभाको प्रत्यक्षतर्फको मतगणना परिणाम अन्तिम चरणमा पुगेको छ । सोमबार विहानसम्म छ स्थानको नतिजा आउन बाँकी छ । पछिल्लो परिणामअनुसार पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनाल प्रतिनिधि सभा निर्वाचनमा पराजित हुनुभएको छ । पराजित हुने पूर्वप्रधानमन्त्रीमा उहाँ मात्र हुनुहुन्छ । इलाम क्षेत्र नं. १ मा उम्मेदवार हुनुभएका उहाँलाई नेकपा (एमाले) इलामका अध्यक्ष महेश बस्नेतले दुई हजार ९५७ मतको अन्तरले पराजित गर्नुभएको हो । बस्नेतले २५ हजार ६९९ मत पाउँदा खनालले २३ हजार ४५ मत मात्र पाउनुभयो । खनाल गठबन्धनको साझा उम्मेदवार हुनुहुन्थ्यो ।
खनालको पराजयबाट सातौँ पटकको संसद्को यात्रा रोकिएको छ भने बस्नेतले संसद्को यात्रा पहिलो पटक थालनी गर्ने अवसर पाउनुभएको छ । खनाल विगतमा एमालेबाट निर्वाचित हुँदै आउनुभएको थियो । उहाँ २०६८ सालमा २०४ दिन प्रधानमन्त्री बन्नुभयो । खनालले निर्वाचनमा धाँधली भएको भन्दै शनिबार पत्रकार सम्मेलन गरेर निर्वाचनका सबै प्रक्रियालाई अस्वीकार गरेको बताउनुभएको थियो । निर्वाचित बस्नेत २०५४ र २०७४ माइलाम नगरपालिकाको नगरप्रमुख हुनुभएको थियो ।
यसैगरी महोत्तरी निर्वाचन क्षेत्र नं १ प्रतिनिधि सभा सदस्यमा एमालेका उम्मेदवार लक्ष्मी महतो विजयी हुनुभएको छ । महतो एक हजार ३० मतको अन्तरले विजयी हुनुभएको छ । महतोले २३ हजार ४०२ मत र उहाँका निकटतम प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र)का गिरिराजमणि पोखरेलले २२ हजार ३७२ मत ल्याउनुभएको थियो । त्यस्तै रामेछापमा लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवार विजयी हुनुभएको छ । एक निर्वाचन क्षेत्र रहेको रामेछापमा नेपाली कांग्रेसका पूर्णबहादुर तामाङ (कान्छाराम) विजयी हुनुभएको हो । तामाङले एमालेका कैलाशप्रसाद ढुङ्गेललाई १६ हजार ३६९ मत अन्तरले पराजित गर्नुभएको हो । तामाङले ४७ हजार ९८ मत र ढुङ्गेलले ३० हजार ७२९ मत प्राप्त गर्नुभएको थियो ।
बाराको क्षेत्र नं २ मा जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार रामसहायप्रसाद यादव १३ हजार ८२२ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँले माओवादी केन्द्रका शिवचन्द्रप्रसाद कुशवाहालाई ३५४ मतान्तरले पराजित गर्नुभएको थियो । कुशवाहाले १३ हजार ४६८ मत प्राप्त गर्नुभएको थियो । यसैगरी धनुषा क्षेत्र नं १ मा एमाले–जसपा गठबन्धनका तर्फबाट उम्मेदवार हुनुभएका दीपक कार्की निर्वाचित हुनुभएको छ । जसपाका कार्कीले माओवादी केन्द्रका उम्मेदवार पूर्वमन्त्री मातृकाप्रसाद यादवलाई पराजय गर्नुभएको छ । उहाँहरूबीच पाँच हजार ९४८ को मतान्तर छ । कार्कीले २७ हजार ४३१ मत प्राप्त गर्नुभएको थियो भने यादवले २१ हजार ४३१ मत प्राप्त गर्नुभयो । २०७४ सालको निर्वाचनमा कार्की यादवसँग पराजित हुनुभएको थियो । सुनसरी क्षेत्र नं ४ मा नेपाली कांग्रेसका उम्मेदवार सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पुनः मतगणनाका लागि निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दर्ता गराउनुभएको छ । यहाँको मतगणना शनिबार दिउँसोबाट स्थगित भएपछि पुनः मतगणनाको काम सुचारु गर्ने विषयमा दुई पटक सर्वदलीय बैठक बसे पनि सहमति हुन नसक्दा गणना सुरु हुन सकेको छैन । सदरमुकाम इनरुवास्थित भगवती माध्यमिक विद्यालयमा शनिबार साँझ र आइतबार बिहानदेखि मध्याह्नसम्म दुई पटक सर्वदलीय बैठक बसेको थियो ।
