देश विकास

विकास पत्रकारिता

,

बचत, ऋण र उद्यमबारे सचेत गराउँदै नेशनल लघुवित्त, नौविसेमा वित्तीय साक्षरता गोष्ठी

Share it with you friends

धादिङ । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय, धार्केको आयोजनामा वित्तीय साक्षरता तथा समूह गोष्ठी कार्यक्रम सम्पन्न भएको छ । सजिलो महिला समूह धार्केका अध्यक्ष सविना गजुरेलको अध्यक्षतामा भएको कार्यक्रममा नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेड केन्द्रीय कार्यालयका सहायक प्रबन्धक मदन रिजालको प्रमुख आतित्थ्यता रहेको थियो । कार्यक्रममा संस्थाका अनुगमन अधिकृत रामचन्द्र लोहनी, परेवाटार शाखा प्रमुख सरोज श्रेष्ठलगायतको आतिथ्यता रहेको थियो

कार्यक्रमको उद्घाटन अध्यक्ष सविना गजुरेल र प्रमुख अतिथि मदन रिजालले पानसमा दीप प्रज्वलन गरेर गर्नुभएको थियो । शाखाका सहायक चन्द्रराम लुहारले स्वागत मन्तव्य राख्नुभएको थियो ।

 

कार्यक्रममा प्रमुख अतिथि रिजालले सहभागीहरुलाई संस्थाको संरचना, प्रगति विवरण, नीति तथा सञ्चालन प्रक्रिया र समग्र लघुवित्त क्षेत्रका विषयमा जानकारी गराउनुभएको थियो । उहाँले वित्तीय साक्षरता भनेको पैसा कमाउने मात्र नभई कमाएको पैसाको उचित व्यवस्थापन, नियमित बचत, आवश्यकताअनुसार ऋण लिने, ऋणको सही सदुपयोग गर्ने तथा भविष्यका लागि आर्थिक योजना बनाउने ज्ञान भएको बताउनुभयो । उहाँले आम्दानीको केही हिस्सा नियमित रूपमा बचत गर्ने बानीले आर्थिक अनुशासन कायम गर्न सहयोग पुग्ने उल्लेख गर्दै आकस्मिक अवस्थाका लागि रकम छुट्याउन र बचतलाई खर्चपछि होइन, आम्दानी प्राप्त भएपछि नै छुट्याउने बानी बसाल्न आग्रह गर्नुभयो ।लघुवित्त समूह ऋण लिने माध्यम मात्र नभई एकअर्काबाट सिक्ने, समस्या समाधान गर्ने, आर्थिक अनुशासन कायम गर्ने तथा आवश्यक पर्दा एकअर्कालाई सहयोग गर्ने साझा मञ्चसमेत भएको रिजालको भनाइ थियो । उहाँले समूह सदस्यहरुलाई नियमित बैठकमा सहभागी हुन, आफ्ना समस्या खुलस्त राख्न तथा ऋणको सही उपयोग र व्यवसायका अनुभव एकअर्कासँग आदानप्रदान गर्न आग्रह गर्नुभयो ।परिवारको आर्थिक व्यवस्थापनमा समेत ध्यान दिनुपर्नेमा जोड दिँदै उहाँले आम्दानी, आवश्यक खर्च, बचत, लगानी र ऋण भुक्तानीलाई समेटेर सामान्य आर्थिक योजना बनाउनुपर्ने बताउनुभयो । साथै, मोबाइल बैंकिङ तथा डिजिटल भुक्तानीको प्रयोग बढिरहेको अवस्थामा पासवर्ड, ओटीपी तथा बैंकिङ विवरण अरूलाई नदिन र अपरिचित लिंक तथा फोनबाट सावधान रहन पनि उहाँले आग्रह गर्नुभयो ।कार्यक्रममा समूह सदस्यका तर्फबाट गिता लामाले प्रतिनिधिमूलक मन्तव्य राख्नुभएको थियो । उहाँले धुनिबेसी नगरपालिकाले प्रदान गरेको सवारी चालक तालिमपछि लघुवित्तबाट ऋण लिएर अटो सञ्चालन गरी आम्दानी गरिरहेको अनुभव सुनाउनुभयो ।

कार्यक्रममा सहभागीहरुले संस्थाको सेवा, ऋण तथा बचतलगायत विभिन्न विषयमा आफ्ना गुनासा, सुझाव तथा अपेक्षा प्रस्तुत गरेको धार्के शाखा प्रमुख देवकी श्रेष्ठले बताउनुभयो ।

कार्यक्रममा उत्कृष्ट समूह, उत्कृष्ट बचतकर्ता तथा उत्कृष्ट व्यवसायीलाई सम्मानसमेत गरिएको छ । उत्कृष्ट समूहतर्फ प्रथम पुराण्डी महिला समूह, द्वितीय कालीदेवी महिला समूह र तृतीय व्यक्तिगत महिला समूह घोषित भएका थिए ।उत्कृष्ट बचतकर्ताका रूपमा सृजना उप्रेती र उत्कृष्ट व्यवसायीतर्फ अनिता श्रेष्ठ तामाङलाई खादा, प्रमाणपत्र तथा मायाको चिनोसहित सम्मान गरिएको थियो ।कार्यक्रममा शुभकामना मन्तव्य राख्दै अनुगमन अधिकृत रामचन्द्र लोहनीले वित्तीय साक्षरता व्यवहारमा लागू गर्न सके मात्र त्यसको वास्तविक अर्थ रहने बताउनुभयो । उहाँले नियमित बचत, ऋणको सही सदुपयोग र आर्थिक अनुशासनलाई प्राथमिकता दिन समूह सदस्यहरुलाई आग्रह गर्नुभयो ।कार्यक्रमको अन्त्यमा सहभागीका गुनासा, सुझाव तथा अपेक्षालाई सम्बोधन गर्दै प्रमुख अतिथि मदन रिजालले संस्थाले सदस्यको आवश्यकता र सुझावलाई प्राथमिकतामा राखेर सेवा प्रवाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । उहाँले कार्यक्रममा सहभागी सबैलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts