बन्दीगृहमा आगलागी, ६८ जनाको मृत्यु
एजेन्सी । भेनेजुएलाको क्यारबोबो राज्यस्थित भ्यारेन्शिया शहरको मध्यभागमा रहेको एउटा प्रहरी चौकीको बन्दीगृहमा बुधवार भएको आगलागी र प्रदर्शनीमा ६८ जनाको मृत्यु भएको सरकारी अधिकारीले बताएको छ ।
राज्यका प्रमुख अभियोजनकर्ता तारेक साबले घटनाबारे तत्काल अनुसन्धान हुने बताएका छन् ।
बुधवार कैदी बन्दीहरुले जेल तोड्नका लागि म्याट्रेसमा आगो लगाउँदा त्यहाँ आगलागी भएको हुनसक्ने आशंका गरिएको छ ।
बन्दीगृहमा आगलागी भएपछि आफ्ना आफन्तजनहरुको अवस्थाबारे बुझ्न प्रहरी चौकी परिसरमा भेला भएका मानिसहरुमाथि प्रहरीले अश्रुग्याँस प्रहार गरेको थियो ।
राज्यका एकजना अधिकारी जिजस सान्टेण्डरले आगलागीपछि अवस्थालाई नियन्त्रण गर्न एकजना प्रहरीले गोली पनि चलाएको पुष्टि गरेका छन् ।
बितेका दशकहरुमा भेनेजुएलका बन्दीगृहहरुमा धेरैवटा गम्भिर आगलागी र झडपका घटनाहरु भएका छन् । तथापी दक्षिण अमेरिकी राष्ट्रहरुका बन्दीगृहरुको अति भिड र अमानविय अवस्थाका कारणले यस्ता परिणामहरु त्यहाँ भैरहने मानवतावादी संघसंगठन र एनजिओहरु बताउँछन् ।
उक्त घटनापछि क्याराबोबो राज्य शोकमा डुबेको ती अधिकारीले बताएका छन् ।
