भ्रमण वर्ष २०२० अन्तर्गत सडक सुधार गर्न निर्देशन
२१ भदौ, २०७६ ।
नेपाल भ्रमण वर्ष २०२० लाई सफलतापूर्वक सम्पन्न गर्न सडक पूर्वाधारमा जोड दिनुपर्ने प्रतिनिधि सभा विकास तथा प्रविधि समितिका सदस्यले जोड दिएका छन्। सरकारले भ्रमण वर्षका लागि एक सय पर्यटकीय गन्तव्य पहिचान गरेको छ। ‘ती पर्यटकीय गन्तव्यसँग पुग्ने सडक पूर्वाधार छैन’, समितिकी सभापति कल्याणीकुमारी खड्काले भन्नुभयो, ‘सडकबिना पर्यटक कसरी गन्तव्यमा पुग्छन् ? ’ सरकारले पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले पहिचान गरेको पर्यटकीय गन्तव्यसँग पर्यटन पुर्याउने सडक निर्माणमा उहाँले जोड दिनुभयो । समितिले शुक्रबार भ्रमण वर्ष २०२० लाई सफलताका साथ सम्पन्न गर्न निर्धारण भएको पर्यटकीय गन्तव्य स्थलहरूसम्म पुग्ने सडक मार्गको अवस्थाका सम्बन्धमा भौतिक पूर्वाधार तथा यातायात र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग छलफल गरेको थियो।
सडककै कारण भ्रमण २०२० प्रभावित नहुने भौतिक पूर्वाधार तथा यातायात सचिव देवेन्द्र कार्कीको दाबी छ। ‘राजमार्गमा समस्या छैन। काठमाडौंका सडकमा समस्या छन्’, सचिव कार्कीले भन्नुभयो, ‘अन्य क्षेत्रका सडक राम्रो अवस्थामा छ।’ काठमाडौंका सडक हेरेर मात्र प्रश्न उठेको उहाँको भनाइ छ। भ्रमण वर्ष सुरु हुन चार महिना बाँकी छ। उक्त अवधिमा काठमाडौंका सडक पनि सुधार गर्ने उहाँले प्रतिवद्धता जाहेर गर्नुभयो । चाबहिल–साँघु, कलंकी–नागढुंगा र च्यामासिंह–नगरकोट सडक भ्रमण वर्षअघि सम्पन्न हुने उहाँको दाबी छ।
