वैशाख कृष्ण औँसी अर्थात् आमाको मुख हेर्ने पर्व, यस्तो छ परम्परा

Share it with you friends

काठमाडौँ, ३ वैशाख । वैशाख कृष्ण औँसीका दिन मनाइने आमाको मुख हेर्ने पर्व आज जन्म दिने आमालाई मीठामीठा परिकार खान तथा राम्रा कपडा लगाउन दिएर खुशी पारी मनाइँदैछ ।

यस वर्षको आमाको मुख हेर्ने औँसी सोमबार परेको छ । सोमबारे औँसीमा बिहान उठेर नबोली स्नान गरेमा यो लोकमा सुख शान्ति र परलोकमा सद्गति पाइने धर्मशास्त्रका ग्रन्थमा उल्लेख गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए ।

शास्त्रमा उपाध्याय (पण्डित), आचार्य र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उनबाट शुभाशीर्वाद थाप्ने दिनका रूपमा लिइन्छ । वैशाख कृष्णपक्ष औँसीका दिनलाई नेपालीले मातातीर्थ औँसी अर्थात् मातृऔँसीका रुपमा समेत मनाउँछन् ।

छोराछोरीले आज बिहानै उठी नुहाएर आफ्नी आमालाई राम्रा राम्रा लुगा लगाउने र मीठा मीठा–तागतिला खानेकुरा खान दिई आशीर्वाद थाप्ने चलन छ । यसो गरेमा मातृ ऋणबाट मुक्त भइने जनविश्वास छ ।

आमा नभएकाहरू भने आमालाई तर्पण र पिण्डसहित श्राद्ध तथा पुरोहितलाई सिदा दानसहित भोजन गराई दिवंगत आमा र उनले गरेका महान् एवं कष्टकर काम सम्झने गर्दछन् ।

शास्त्रमा प्रत्येक नरनारीले जीवनमा देव ऋण, मनुष्य ऋण र पितृ ऋण तिर्नैपर्छ भनिएको छ । पितृ ऋण तिर्न मातापितालाई जीवित हुँदा सम्मानपूर्वक खुशी राख्ने मृत्युपश्चात् श्रद्धापूर्वक श्राद्ध गर्नुपर्ने शास्त्रीय विधान छ ।

आजको दिन दिवंगत आमाको सम्झनामा यहाँस्थित थानकोट मातातीर्थमा मेला लाग्छ । आमा नहुने नरनारी आज बिहानै उक्त तीर्थमा गई स्नान तथा हरिहर (विष्णु र शिव)को दर्शन र पूजा गर्दछन् । आमा बित्नेले सके प्रत्येक वर्ष, नसके एकपटक मातातीर्थमा श्राद्ध गर्नुपर्ने मान्यतासमेत छ ।

सो तीर्थको परिसरमा मूर्तिकार रामकृष्ण भण्डारीद्वारा निर्मित सबैकी आमाको प्रतीक ‘साझा आमा’को मूर्ति पनि स्थापना गरिएको छ । यसले गर्दा मातातीर्थको आकर्षण बढाएको छ ।

मातातीर्थको उत्पत्तिका सम्बन्धमा प्रचलित एउटा कथा यस्तो छ । कथा अनुसार धेरै वर्ष पहिले त्यस ठाउँमा गाईबस्तु चराउने चौर थियो । एक दिन एउटा गोठालाले सो चौरमा फ्याँकेको रोटीको टुक्रा हरायो । उसले अचम्म मानी रोटीको अर्काे टुक्रा पनि फ्याँक्यो, त्यो पनि हरायो । अरू गोठालाहरूले पनि रोटीका टुक्रा फ्याँके, तिनमध्ये आमा जीवित हुनेले फ्याँकेको रोटी त्यहीँ रही आमा नहुनेले फ्याँकेका रोटीमात्र अलप भए ।

कथाअनुसार पहिलोचोटी रोटी फ्याँक्नेकी आमा पनि थिइनन् । त्यो दिन वैशाख कृष्णपक्षको औँसी थियो । दोस्रो दिन भने अघिल्लो दिनको जस्तो रोटी हराएन । सो कुरा चाल पाई गाउँलेहरूले औँसीका दिन मृत आमा त्यस ठाउँमा आई आफ्ना छोराछोरीले दिएको चिज खाँदा रहेछन् भन्ने विश्वास गरेर त्यस ठाउँमा कुण्ड बनाइ त्यसको नाम मातातीर्थ राखे ।

यसरी हरेक वर्ष आजकै दिन आमा नहुनेहरूले त्यहाँ गई कुण्डमा नुहाएर मीठामीठा खाद्यपदार्थ चढाई मातृ दिवस मनाउन थाले र मातातीर्थ मेला लाग्न थाल्यो ।

आमाको महत्वलाई संस्कृतका विभिन्न श्लोकमा यसरी वर्णन गरिएको छ, “मातृदेवो भव, पितृदेवो भव, आचार्यदेवो भव ।”

‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी ।’
‘कुपुत्रो जायते क्वचिदपि कुमाता न भवति ।’

औँसीलाई पितृको तिथि मानिन्छ । भदौ कृष्ण औँसीमा बाबुको मुख हेर्ने पर्वका रुपमा मनाइन्छ । यस दिन बाबुलाई मीठा चीजबीज खान र राम्रा कपडा लगाउन दिइन्छ । बाबुको मुख हेर्ने दिन उपत्यकाको उत्तर पूर्वी भेगस्थित गोकर्णेश्वरमा दिवंगत पिताको सम्झनामा श्राद्ध गरिन्छ ।

गोकर्णेश्वरलाई पितृतीर्थका रुपमा लिइन्छ । यहाँ श्राद्ध गरेमा घर र मामाघरका समेत सात पुस्ताका पितृले मोक्ष पाउँछन् भन्ने मान्यतासमेत छ । रासस

  • Related Posts

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    काठमाडौँ । वाणिज्य बैंकहरूले असार महिनाका लागि सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार अधिकांश बैंकले निक्षेपको ब्याजदर स्थिर राखेका छन् भने पाँच बैंकले मुद्दती निक्षेपको ब्याजदर घटाएका छन्। बैंकहरूले प्रत्येक महिनाको…

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    नेपालको पहिलो व्यावसायिक सुरुङमार्ग ‘नागढुंगा-सिस्नेखोला सुरुङमार्ग’ आगामी साउनदेखि सञ्चालन गर्ने गरी तयारी भइरहेको छ । नागढुंगा-सिस्नेखोला सुरुङमार्ग आयोजनाका प्रमुख सौजन्य नेपालका अनुसार आवश्यक तयारी गरेर आगामी साउनको तेस्रो सातासम्म सुरुङमार्ग…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १२:३२
    • 9 views
    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३७
    • 10 views
    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३२
    • 9 views
    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 20 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 20 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 20 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते