सय वर्ष पुरानो ढुंगे पुल
हेटौंडा — एउटा पक्की पुलको आयु मुस्किलले ३० वर्ष होला ? तर, मकवानपुरको उत्तरी क्षेत्रको एउटा ढुंगेपुल (साँघु) सय वर्षभन्दा बढी टिकेको छ ।
अहिले पनि सोही पुल भएर स्थानीय ओहोरदोहोर गर्छन् । थाहा नगरपालिका–९ नयाँ पौवास्थित खोलामा विसं १९५० तिर १० मिटर लम्बाइ र साढे १ मिटर चौडा ढुंगेसाँघु हालिएको स्थानीय बुद्धरत्न मानन्धर बताउँछन् ।
चित्लाङस्थित चन्द्रागिरी पाखाबाट ठूलो ढुंगालाई छिनालेर ताछेर साँघुको आकार दिइएको थियो । ‘महिनौं लगाएर साँघुको आकारमा ढुंगा कुँदेपछि पौवा खोलामा ल्याएर हालिएको थियो,’ स्थानीय ७९ वर्षीय बाबुकाजी मानन्धरले भने, ‘मैले पनि साँघु हालेको देखेको होइन, बाआमाले भनेको सुनेको हुँ, सानैदेखि यो साँघु देखेकै छु ।’
करिब १ सय २४ वर्ष अघिदेखि सञ्चालनमा आएको यो साँघुको कसैले मर्मत पनि गर्नुपरेको छैन र जोखिम पनि मोल्नु परेको छैन । त्रिभुवन राजपथ सञ्चालनमा आउनुअघि राजधानी आवतजावत गर्ने मुख्य प्रवेशद्वारको रूपमा चित्लाङ–चन्द्रागिरी थियो । यो मार्गबाट आउजाउ गर्ने सबैले यही साँघु प्रयोग गर्नुपर्थ्यो । चित्लाङ अहिले पर्यटकीय क्षेत्रका रूपमा विकसित हुँदै गएको छ । यहाँ आउने स्वदेशी एवं विदेशी पर्यटक ढुंगाको यो साँघु देखेर अचम्मित हुन्छन् । सय वर्षअघि यो ढुंगेसाँघु हालेको जानकारी गराएपछि उनीहरू दंग पर्ने स्थानीय बताउँछन् ।
‘साँघु हाल्ने, बोकेर ल्याउने, ढुंगा ताछ्ने र फोर्ने अहिले कोही पनि जीवित छैनन्,’ ७३ वर्षीय कृष्णबहादुर लामाले भने, ‘मेरो बालगायत १०/१२ जनाले छिनाले ढुंगा ताछेर साँघु बनाएको सुनेको हुँ ।’ त्यसबेला अहिलेजस्तो ढलान गरी पक्की पुल बनाउन सिमेन्ट र रडको अभाव थियो । त्यतिबेला गाउँलेहरूले आफ्नै तरिकाले काठ र ढुंगाका साँघु बनाएर खोला वारपार गर्थे । काठको साँघु २ वर्ष पनि नटिक्ने भएकाले खोलामा ढुंगाको साँघु हाल्ने गरिन्थ्यो ।
‘यति लामो र पुरानो ढुंगाको साँघु मकवानपुरमै छैन,’ स्थानीय ७५ वर्षीय लेखक एवं साहित्यकार शान्तलाल नेवाले भने । चित्लाङ प्राकृतिक, धार्मिक र ऐतिहासिक वस्तुहरूले भरिभराउ छ । यो अहिले पर्यटकको गन्तव्य बनेको छ । चित्लाङमा १३ होमस्टे र ४ होटल सञ्चालनमा छन् ।
