सल्यानको टिमुरतेल विदेश निर्यात
२१ भदौ, २०७६ ।
सल्यान जिल्लामा उत्पादन हुने टिमुरको तेल विदेश निर्यात हुन थालेको छ। विगत तीन वर्ष यता जिल्लामा उत्पादन हुँदै आएको टिमुरको तेल भारत, फ्रान्स, जर्मनीलगायत देशमा निर्यात हुन थालेको छ। जिल्लाको शारदा नगरपालिका–१५ मा रहेको माँ लक्ष्मी हर्बल उद्योगले टिमुरलाई प्रशोधन गरेर तेल निकाल्दै आएको छ। उद्योगले टिमुरको तेल प्रतिकिलो १० हजारदेखि १३ हजारसम्ममा काठमाडौंमा बेच्दै आएको उद्योग सञ्चालक हरिप्रसाद न्यौपानेले बताउनुभयाे। उहाँका अनुसार स्वदेश तथा विदेशमा तेलको माग बढेपछि उत्पादन पनि बढाउने तयारी छ।
प्रतिक्विन्टल टिमुरबाट चार किलोसम्म तेल उत्पादन हुन्छ। टिमुरको तेल बेचेर वार्षिक ३० करोडभन्दा बढी आम्दानी हुने गरेको न्यौपानेको भनाइ छ। डिभिजन वन कार्यालय सल्यानका अनुसार यस वर्ष जिल्लामा ३० करोडभन्दा बढीको टिमुर उत्पादन भएको छ। जिल्लामा टिमुर प्रतिकिलो सात सय ५० रूपैयाँसम्म बिक्री हुन्छ।
सल्यान टिमुर उत्पादनमा देशकै आत्मनिर्भर जिल्ला पनि हो। यसैबीच जिल्ला वन कार्यालयले यस वर्ष ४० हजार टिमुरका बिरुवा किसानलाई निःशुल्क वितरण गरेको छ। बिरुवा हुर्काउन २६ लाख रूपैयाँ समेत किसानलाई अनुदान स्वरूप वितरण गरिएको छ। जिल्लाका अधिकांश ठाउँ विस्तारै टिमुर पकेट क्षेत्रका रूपमा विकास गरिँदै छ। जिल्लामा उत्पादित टिमुरका बिरुवा देशका ४० जिल्लामा बिक्री गरिन्छ।
