सार्वजनिक यातायातमा अब ज्येष्ठ नागरिक सिटको अनुगमन गरिने
धादिङ्ग– सार्वजनिक यातायातमा ज्येष्ठ नागरिक आरक्षण सिट, भाडामा दिइँदै आएको छुट र उनीहरुले यात्रामा भोग्नु परेका समस्याबारे अनुगमन गरिने भएको छ । सार्वजनिक यातायातमा प्रभावकारी अनुगमनको माग गर्दै आज यातायात व्यवस्था विभाग पुगेका अग्रज समाज नेपाल र ज्येष्ठ नागरिक सङ्घर्ष समितिका प्रतिनिधिसँगको भेटघाटका क्रममा विभागले सो प्रतिबद्धता जनाएको हो ।
विभागका निमित्त महानिर्देशक प्रेमकुमार सिंहले विगत एक दशक पहिलेदेखि अनुगमन हुँदै आएकामा आगामी दिनमा अझै बढाइने बताउनुभयो । सवारी साधनले ज्येष्ठ नागरिकका लागि सिट आरक्षण नगरेर वा ५० प्रतिशत छुट नदिँदा कारवाही गरिने उहाँले बताउनुभयो । ज्येष्ठ नागरिकसमेत सङ्लग्न गराएर अनुगमन गराइने उहाँले प्रतिबद्धता जनाउनुभयो । अहिले अनुगमन शुरु गरेर दशैँ लगायतका चाडपर्वमा अनुगमन बढाइने उहाँले बताउनुभयो ।
