देश विकास

विकास पत्रकारिता

,

सिद्धलेक गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रमाणीकरण घोषित

Share it with you friends

धादिङ,  जेठ । “स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता, पूर्णखोप सुनिश्चितता–हाम्रो प्रतिबद्धता” भन्ने मूल नाराका साथ चालु आर्थिक वर्ष २०८२/०८३ को सिद्धलेक गाउँपालिकाको वडा तथा पालिका स्तरीय पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रमाणीकरण घोषणा सभा सम्पन्न भएको छ।

गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा हासिल गरेको ऐतिहासिक उपलब्धिलाई संस्थागत गर्दै स्वस्थ, सुरक्षित र समृद्ध समुदाय निर्माण गर्ने लक्ष्यका साथ बुधबार गाउँपालिका सभा हलमा आयोजित  विशेष कार्यक्रमका बीच पालिकालाई पूर्ण खोप सुनिश्चितता भएको औपचारिक घोषणा गरिएको हो।

पालिका स्तरीय खोप समन्वय समितिका अध्यक्ष एवं सिद्धलेक गाउँपालिकाका अध्यक्ष  परशुराम खतिवडाको अध्यक्षतामा सम्पन्न  कार्यक्रममा जिल्ला समन्वय समिति धादिङका उपप्रमुख एवं जिल्ला खोप समन्वय समितिका उपप्रमुख  कुलमान विश्वकर्मा प्रमुख अतिथिका रूपमा रहनुभएको थियो।

त्यस्तै, कार्यक्रममा विशेष अतिथिका रूपमा प्रमुख जिल्ला अधिकारी  विजयराज सुवेदी र जिल्ला खोप समन्वय समितिका सदस्य सचिव एवं जिल्ला जनस्वास्थ्य कार्यालय धादिङका कार्यालय प्रमुख अर्जुन पौडेल सहभागी हुनुहुन्थ्यो। कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सविता अर्याल, पालिकाका विभिन्न वडाका वडाध्यक्षहरू, पालिका स्तरीय खोप समन्वय समितिका सदस्यहरू, स्वास्थ्य शाखाका कर्मचारी, विभिन्न स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मी तथा गाउँ-गाउँमा खटिने सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकाहरूको ठूलो संख्यामा सहभागिता रहेको थियो।

घोषणा सभामा बोल्दै प्रमुख अतिथि जिल्ला समन्वय समितिका उपप्रमुख कुलमान विश्वकर्माले सिद्धलेक गाउँपालिकाले स्वास्थ्य सूचकांकमा देखाएको यो तत्परता प्रशंसनीय रहेको बताउनुभयो। उहाँले खोपको सुनिश्चितता गर्नु मात्र ठूलो कुरा नभई यसको दिगोपना कायम राख्नु मुख्य चुनौती रहेको उल्लेख गर्दै यसमा स्थानीय तह र समुदायको स्वामित्व आवश्यक रहेकोमा जोड दिनुभयो।

विशेष अतिथि प्रमुख जिल्ला अधिकारी  सुवेदीले बालबालिकाको नैसर्गिक स्वास्थ्य अधिकार सुरक्षित गर्न खोप कार्यक्रमको भूमिका सर्वोपरी रहने बताउँदै पालिकाको यो कदमले समृद्ध नेपाल निर्माणको अभियानमा इँटा थपेको उल्लेख गर्नुभयो। त्यस्तै, जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख अर्जुन पौडेलले खोपको प्राविधिक पक्ष, कभरेज र दिगोपनाका लागि जनस्वास्थ्य कार्यालयले निरन्तर सहयोग र सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रमका अध्यक्ष एवं गाउँपालिका अध्यक्ष  खतिवडाले पालिकालाई पूर्ण खोप सुनिश्चित गराउन अहोरात्र खटिने स्वास्थ्यकर्मी र विशेष गरी जगैदेखि काम गर्ने सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकाहरूको योगदानको उच्च मूल्यांकन गर्नुभयो। उहाँले भन्नुभयो, “स्थानीय स्रोतको अधिकतम उपयोग र समुदायको पूर्ण सहभागिता बिना यो उपलब्धि सम्भव थिएन। आगामी दिनमा पनि कोही पनि बालबालिका खोपबाट नछुटून् भन्नका लागि गाउँपालिका सधैं प्रतिबद्ध रहनेछ।”

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सविता अर्यालले  मन्तव्य राख्दै स्वास्थ्य क्षेत्र गाउँपालिकाको उच्च प्राथमिकतामा रहेको र पूर्ण खोपको निरन्तरताका लागि बजेट तथा कार्यक्रममा आवश्यक व्यवस्था मिलाइने जानकारी दिनुभयो।

वडा र पालिका स्तरमा सबै बालबालिकाले नियमानुसार पाउनुपर्ने सबै खोप पाएको सुनिश्चित गरिएपछि प्राविधिक टोलीको प्रतिवेदन र प्रमाणीकरणका आधारमा यो घोषणा गरिएको हो।

खोप अभियानलाई सफल बनाउन जगैदेखि अहोरात्र खटिएर उत्कृष्ट योगदान पुर्‍याउने स्वास्थ्यकर्मी र स्वयंसेविकाहरूलाई कार्यक्रममा विशेष सम्मान गरिएको थियो।

जसअनुसार कुम्पुर स्वास्थ्य चौकीमा कार्यरत अ.न.मी. सरिता गिरीलाई ‘उत्कृष्ट खोपकर्मी’ का रूपमा सम्मान गरियो। त्यसैगरी, समुदायस्तरमा खोपको दायरा बढाउन र नागरिकलाई सचेत गराउन महत्त्वपूर्ण भूमिका खेल्ने सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकाहरू क्रमशः वडा नम्बर १ की प्रतिक्षा अर्याल, वडा नम्बर ३ की विमला श्रेष्ठ र वडा नम्बर ६ की शोभा पाटा मगरलाई विशेष सम्मान प्रदान गरिएको थियो।

त्यसै गरी गाउँपालिकाका ७ वटै वडा र १० वटा स्वास्थ्य संस्थालाई पनि पूर्ण खोप सुनिश्चिचताका लागि पु¥याएको योगदानको कदर गर्दै सम्मान पत्र प्रदान गरिएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts