एमाले र माओवादी केन्द्रबीच वैशाख ९ गते एकता हुनेमा अन्यौल, ‘सूर्य’ चिह्नमा समझदारी

  • 4
  •  
  •  
  •  
  •  
  •  
    4
    Shares

काठमाडौँ, ४ वैशाख । नेकपा एमाले र माओवादी केन्द्रबीच निर्वाचन चिह्न ‘सूर्य’ राख्ने समझदारी भएको छ । पार्टी एकता संयोजन समितिको मंगलबारको बैठकले यो समझदारी गरेको हो ।

मिल्न बाँकी विषयलाई टुङ्गो लगाउन दुई अध्यक्षलाई जिम्मेवारी दिईएकामा निर्वाचन चिह्नको विषयमा विवाद नभएको नेताहरुले जनाएका छन् ।

एमालेले सूर्य र केन्द्रले ‘सूर्यभित्र हँसिया हथौडा’ चिह्न राख्नुपर्ने अडान राखेको कुरा बाहिर आए पनि चिह्नको विवाद हल भइसकेको एमालेका महासचिव एवं संयोजन समितिका सदस्य र्ईश्वर पोखरेलले जानकारी दिनुभयो ।

दुई दलबीचका वैचारिक र अन्तरिम विधान मस्यौदा कार्यदलले एकता घोषणाको मिति, निर्वाचन चिह्न, सांगठनिक अनुपात, जनयुद्धको विश्लेषणजस्ता विषयमा निर्णय गर्न बाँकी राखेर संयोजन समितिलाई गत चैत तेस्रो साता प्रतिवेदन बुझाएको थियो ।

प्रतिवेदनहरुले यही वैशाख ९ गते एकता घोषणा गर्न दिएको सुझावलाई सकारात्मक रूपमा लिँदै त्यसको तयारी गर्ने बताएको थियो । तर यसबीच दुई दलका शीर्ष नेताको बैठक नहुँदा अन्यौल बढेको थियो ।

संयोजन समितिको बैठकलगत्तै अध्यक्षहरु ओली र दाहालबीच बालुवाटारमा आपसी भेटवार्ता शुरु भएको छ । महासचिव पोखरेलले यही वैशाख ५ गते विद्यार्थी भर्ना अभियानका लागि नेता र मन्त्रीहरु काठमाडौँ बाहिर जाने भएकाले वैशाख ६ गते मात्रै औपचारिक तयारी हुने जानकारी दिनुभयो ।

उहाँले दुई अध्यक्ष तयारीमा लाग्ने भएकाले वैशाख ९ गते एकता घोषणा नहुने भन्ने अहिल्यै भन्न नसकिने बताउनुभयो भने केन्द्रका नेता श्रेष्ठले सो दिनका लागि तयारी नपुग्ने देखिएको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *