धादिङ्ग सहित जिल्लाका ५ ओटा एनसेल टावरमा विस्फोट र आगजनी, अर्घाखाँचीमा टेलिकमको टावर पनि जलाइयो

Share it with you friends

साउन १६, २०७६ बिहिबार
धादिङ्ग – देशका विभिन्न जिल्लामा रहेका एनसेलको टावरमा आगजनी र विस्फोट भएको छ । धादिङ, ललितपुर, डोटी, कैलाली, डडेल्धुरा र पर्वतमा रहेका एनसेलको टावरमा विस्फोट र आगजनी भएको जिल्लाका प्रहरीले जनाएको छ ।

धादिङ सिद्धलेक गाउँपालिका –६ सुनौलाबजार डाँडामा रहेको एनसेलको टावर र धुनीबेसी नगरपालिका– ४ देवीस्थानमा रहेको एनसेल टावरमा आगजनी भएको इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरिक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो ।

ललितपुरको कोञ्जोसोम गाउँपालिका शङखुमा रहेको एनसेलको टावरमा आगजनी र विष्फोटको प्रयास भएको हो ।

डोटीको जोरायल गाउँपालिका – १ गोगनपानीमा रहेको एनसेलको टावरमा बुधबार राति आगजनी भएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रवक्ता तथा डीएसपी लालबहादुर धामीले बुधबार राति करिब १ बजे टावरमा आगजनी गरिएको बताउनुभयो । आगजनीबाट टावरमा उपकरणहरु जलेर नष्ट भएका छन् ।

कैलालीको धनगढी उप–महानगरपालिका– ६ जालीमा रहेको एनसेल टावरमा पनि आगजनी भएको छ । प्रहरीका अनुसार बुधबार राति सवा १२ बजेको समयमा आगजनी भएको हो । आगजनीबाट टावरका व्याट्रीहरु जलेका छन् ।

त्यसैगरी, डडेल्धुरामा पनि एनसेलको टावरमा आगजनी भएको छ । आलिताल गाउँपालिका–२ काफलीडाँडामा रहेको टावरमा आगजनी गरिएको हो । बुधबार राति ११ बजेतिर टावरमा आगजनी भएको जिल्ला प्रहरी कार्यालय, डडेल्धुराका प्रहरी निरीक्षक लक्ष्मण खड्काले जानकारी दिनुभयो ।

पर्वतको मोदी गाउँपालिका– ६ तिलाहार थानाकोटमा रहेको एनसेलको टावरमा पनि बुधबार राति आगजनी भएको छ । यसैगरी, अर्घाखाँचीको पाणिनि गाउँपालिका ५ मा रहेको नेपाल टेलिकमको टावरमा पनि आगजनी भएको छ । परिचय नखुलेको मानिसहरुको समूहले विस्फोट र आगजनी गरेको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *