Breaking News

प्याजको विकल्पमा जिरा

Share it with you friends

 

२०७६ पुस ०८, मंगलबार        प्याजको अभाव झेल्दै आएका पर्वतवासीले यसको विकल्पमा विभिन्न चीज प्रयोग गर्न थालेका छन् । मुख्यगरी तरकारीजन्य परिकार, मासुजन्य परिकार, अचार, मःम, चुकौनी लगायतमा प्याजको प्रयोग हुने गर्दछ ।प्याजको विकल्पमा जिरा, मेथी लगायत अन्य चिज प्रयोग गर्न थालिएको सदरमुकामस्थित हिमाल होटलका सञ्चालक झलक आचार्यले जानकारी दिएका छन् । उनले भने “तरकारी तथा अचारमा प्याजको सट्टा जिरा, मेथी, दालमा लम्बु, प्रयोग गर्न सुरु गरेका छौ ।”
कुखुराको मासु र प्याजको मूल्यसमेत बराबरी जस्तै भएपछि होटलमा खान आउने ग्राहकलाई समेत प्याज प्रयोग नहुने परिकार खान आग्रह गरिदै आएको छ ।
पर्वतको ठूलीपोखरीकी राधा सापकोटाले भनिन्, “घरमा लगाएको प्याज असारमै सकियो । बजारमा महङ्गीले प्याज किनिसाध्ये छैन । अहिले लसुन, मेथी, जिरा पड्काउन थालिएको छ ।”

कटुवाचौपारीकी शोभा ढकालले पनि प्याज राखेको परिकार नखाएको लामो समय भएको बताइन् । “अघिल्लो वर्ष फलेका प्याज सकिए, बल्ल लगाउने सिजन भएको छ त्यसपछि खान पाईएला तर बजारबाट किनेर खाइसाध्ये नभएर किनिएको छैन । ”उनले भनिन् ।
कुश्मा बजारमा अहिले प्याजको मूल्य रु २०० रहेको छ । ग्रामीण बजारमा रु २२० सम्म लिने गरेका छन् । “प्याज निकै महङ्गो छ, खासै बिक्री हुँदैन”, कुश्मा बजारका किराना व्यवसायी दामोदर पौडेलले भने ।

निकै न्यूनमात्रामा बिक्री हुने र नाफा पनि खासै नहुने भएकाले तीन÷चार महिनादेखि प्याज बिक्री गर्नै छाडेको तरकारी व्यवसायी ज्ञानेन्द्र बास्तोलाले जानकारी दिए । उनले भने भयो, “प्याज खानभन्दा माछा मासु खान सस्तो भयो । आजकल त कसैले किन्दैनन् । बिक्री गर्न छाडियो । बरु प्याजको सट्टा जिरा र मेथीको बिक्री बढेको छ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *