कांग्रेसले चाहे एमालेको सरकार ढाल्न सक्ने शेखर कोइरालाकाे दावी
दमौली । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकारले मनोमानी ढंगले गलत काम गरे नेपाली कांग्रेस चुप लागेर नबस्ने चेतावनी दिएका छन् ।
पूर्वप्रधानमन्त्री तथा पार्टी नेता गिरिजाप्रसाद कोइरालाको आठौं स्मृति दिवसका अवसरमा कांग्रेस व्यास ४ ले दमौलीमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले वर्तमान सरकारको मनोमानीले चरम रुप लियो भने नेपाली कांग्रेसले नै यो सरकार ढालिदिने बताए । कोइरालाले भने, ‘यसअघि गिरिजाबाबुले पनि २०५१ सालमा एमालेको सरकारलाई ढाल्नुभएकै हो, अहिले पनि सरकारले गलत क्रियाकलापलाई नरोके कांग्रेस चुप लागेर बस्दैन ।’
प्रधानमन्त्री केपी ओली अधिनायकवादतर्फ लम्केको आरोप लगाउँदै नेता कोइरालाले राष्ट्रिय अनुसन्धान, राजश्व विभाग, सम्पती सुद्धिकरण कार्यालय प्रधानमन्त्रीको मातहातमा ल्याउनुले त्यसको पुष्टि गरेको बताए ।
ओली सरकारले न्यायालयमा समेत हस्तक्षेप गरेको भन्दै प्रधानमन्त्री ओलीको कार्यशैली लोकतन्त्र नै समाप्त पार्ने मनसाय रहेको उल्लेख गरे । उनले प्रधानमन्त्री र राष्ट्रपति निर्वाचन प्रक्रियादेखि प्रधानन्याधीशको पदमुक्त गर्ने कार्यशैली विधी र प्रक्रिया भन्दा बाहिर भएको बताए ।
एमाले सरकारलेउ लोकतन्त्रमाथि आक्रमण गरे कांग्रेसले सदनदेखि सडकसम्म आन्दोलन गर्ने चेतावनी दिए । प्रतिपक्षमा रहेको आफ्नो पार्टीले सरकारको गुण र दोष आधारमा समर्थन र विरोध गर्ने भएकाले अधिनायकवादतर्फ अघि बढे सशक्त भएर प्रतिकारमा उत्रने उनले बताए ।
कार्यक्रममा पार्टी कार्यकर्ताहरुलाई सशक्त प्रतिपक्ष हुन बलियो कांग्रेस आवश्यक रहेको बताउँदै गुट उपगुटमा नलागी एकजुट हुनु पर्नेमा जोड दिएका छन् । निर्वाचनमा पार्टीको पराजय बारे केन्द्रीय समितिको बैठक समीक्षा भइरहेको उनले जानकारी दिए ।
