गजल
– अदिती अर्याल
मरेतुल्य भयो जीवन जिउने आधार नपाएर।
आफ्नो भन्ने मान्छेबाट सही व्यवहार नपाएर।
महङ्गीले हाहाकार भा’छ अचेल शहरमा,
मुस्ताङमा स्याउ कुहियो, राम्रो बजार नपाएर।
सङ्क्रमणकालमा देश गुज्रिँदै छ वर्षौंदेखि,
मेरो देशले निकास पाउने स्थायी सरकार नपाएर।
सिमानाका जङ्गे पिल्लर रातारात सारिन्छन् रे,
सिध्याइदिन्थेँ ती दुश्मनलाई मैले तरबार नपाएर।
बुढेसकालमा रुँदै-रुँदै आमा वृद्धाश्रम लागिन्
एउटै भा’को सन्तानबाट स्याहारसुसार नपाएर।
