आईपिएल : हैदरावादले मुम्बई इन्डियन्सलाई ३१ रनले हरायो
मुम्बई, १२ वैशाख । आईपिएल-११ मा सनराइजर्स हैदरावादले मुम्बई इन्डियन्सलाई ३१ रनले हराएको छ । मुम्बईको होमग्राउण्डमा वानखेडे स्टेडियममा हैदरावादको यो पहिलो जित हो । २०१३ मा पहिलोपटक आईपिएल खेलेको हैदरावादको टिमले यसअगाडि ३ खेल यहाँ खेलेको थियो र तीनैपटक पराजय व्यहोरेको थियो ।
११९ रनको लक्ष्य पछ्याएको मुम्बईले १८.५ ओभरमा ८७ रनमै अलआउट भयो । ४ ओभरमा ११ रन दिएर २ विकेट लिने रासिद खान यस खेलमा म्यान अफ दि म्याच घोषित भए । यसअघि टस हारेर पहिला ब्याटिङ रोजेको हैदरावादले १८.४ ओभरमा ११८ रन जोड्दै अलआउट भएको थियो ।
मुम्बईको ओपनर टोलीले राम्रो सुरुवात गर्न सकेन । इविन लुईस ५ रन बनाएर सन्दीप शर्माको बलमा आउट भए । उनीपछि ईशान किशन शून्य रन र कप्तान रोहित शर्मा २ रन जोडेर प्याभेलियन फर्किए । त्यसपछि मैदानमा उत्रिएका सूर्यकुमार ३३ रन र क्रुणाल पाण्डेले २४ रन बनाए । यी दुवै आउट भएपछि अरु कुनै पनि ब्याट्स्म्यान क्रिजमा टिक्न सकेनन् ।
हैदरावादको तरंपबाट सिद्धार्थ कौलले सबैभन्दा बढी ३, रासिद खान र बासिल थंपीले २-२ विकेट लिए । त्यसैगरी सन्दीप शर्मा, मोहम्मद नबी र शाकिब अल हसनले १-१ विकेट लिए ।
हैदरावादको ओपनर शिखर धवन ५ र रिद्धिमान साहा शून्य रनमै मिशेल मैक्लेनाघनको घातक बलिङको शिकार बने । दुवैजना पारीको दोस्रो ओभरमा आउट भए । उनीहरुपछि मनिष पाण्डेयलाई १६ रनमै हार्दिक पंड्याले आउट गरिदिए ।
मुम्बईका लागि मिशेल मैक्लेनाघन, हार्दिक पंड्या र मयंक मार्कंडेले २-२ विकेट लिए ।
६ खेलमा ४ खेल जितेर ८ अंकका साथ सनराइजर्स हैदरावादको तेस्रो स्थानमा पुगेको छ । हैदरावादभन्दा अगाडि किंग्स इलेवन पञ्जाब पहिलो र चेन्नई सुपरकिंग्स दोस्रो स्थानमा रहेका छन् । मुम्बई भने ६ खेलमा केवल एक मात्र खेल जितेर २ अंकका साथ सातौं स्थानमा पुगेको छ ।
मंगलबारको खेलसँगै आईपिएलमा युसुफ पठानले १५५औं आईपिएल खेलमा ३ हजार रन पूरा गर्न सफल भए । उनले अहिलेसम्म १ शतक र १३ अर्धशतक पनि पूरा गरिसकेका छन् । उनीभन्दा अगाडि नै ११ ब्याट्सम्यानले तीन हजारभन्दा बढी रन बनाईसकेका छन् । सबैभन्दा बढी सुरेश रैनाले ४ हजार ६ सय ५८ रन बनाइसकेका छन् ।

 
             
             
            