चिनियाँ राष्ट्रपति सी काठमाडौं आइपुगे, सडकमा स्वागतको भव्य तयारी
२५ असोज २०७६ ।
चिनियाँ राष्ट्रपति सी जिनपिङ नेपाल आइपुगेका छन् । त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा सी लाई समकक्षी विद्यादेवी भण्डारीले स्वागत गर्नुभएको छ । यसै गरी सी लाई स्वागत गर्न उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, मन्त्रीहरु विमानस्थल पुग्नुभएको हो । राष्ट्रपति सी भारतको चेन्नई अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट नेपाल प्रस्थान गरेका थिए ।

चीनका राष्ट्रपति सी चिनफिङको स्वागतका लागि त्रिभुवन विमानस्थलदेखि उहाँ सवार हुने मार्गमा विभिन्न झाँकी सहित तयारी गरिएको छ । नेपाल सरकार, सुरक्षा निकाय, काठमाडाँै महानगरपालिका सहित विभिन्न निकायले आफ्नो जिम्मेवारीअनुसार तयारीलाई अन्तिम रुप दिएका हुन् ।
सडकको दायाँबायाँमा सुरक्षाकर्मी तैनाथ गरिनाका साथै दुवै देशको झण्डा लिएर राष्ट्रसेवक कर्मचारी, युवा, विद्यार्थीलगायत सर्वसाधारण राष्ट्रपति सिको स्वागतका लागि प्रतिक्षारत छन् ।
उनीहरुले सीको सवारीमार्गमा कर्तल ध्वनिका साथ स्वागत गर्नेछन् । धुलो हटाउन सडकमा पानी र ब्रुमरले सरसफाइ गरिएकोे छ ।

राष्ट्रपति सी त्रिभुवन विमानस्थलदेखि होटेल सोल्टीमा ‘कारगेट’बाट आउने ठाउँठाउँमा स्वागत ब्यानर र विभिन्न आकर्षक तस्बिर सजाइएको छ ।
यस्तै सीको स्वागतका लागि सडकमा विभिन्न वेषभूषामा सजिएका र विभिन्न बाजासहितका जनसमुदाय उपस्थित छन् भने राष्ट्रसेवक कर्मचारीसहित सर्वसाधारण दिउँसो चार बजे स्वागतका लागि सडकका दुवै किनारमा उपस्थित भएका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी शनिबारदेखि दुईदिने नेपाल भ्रमणमा आउन लागेका हुन् ।
