चुनावी अभियानलाई सक्रिय पार्दै धादिङका दलहरु

Share it with you friends

धादिङ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि धादिङमा यतिवेला राजनीतिक दलहरुले चुनावी अभियान सञ्चालन गर्दै आइरहेका छन् । सो क्रममा दलहरुले आफ्ना चुनावी एजेन्डा र धारणा सार्वजनिक गर्ने काम तिब्र पारेका छन् ।
धादिङको प्रतिनिधिसभाको दुई र प्रदेशसभाको चार क्षेत्रमा हुने निर्वाचनका लागि विभिन्न दल तथा स्वतन्त्र उम्मेदवारहरू गरी ६८ जनाले उम्मेदवारी कायम गरेका छन । शुरुमा उम्मेदवारी दिएका मध्ये नेकपा एमालेका एक, राप्रपाका तीन र स्वतन्त्र तीन जना र नेपाल मजदुर किसान पार्टीका एक गरी ७ जनाले फिर्ता लिएपछि जिल्ला भर ६७ जना को उम्मेदवारी कायम भएको छ । उम्मेदवार कायम रहेकाहरु गाउँ गाउँमा पुगेर प्रचारप्रसारमा जुट्न थालेका छन्। धादिङमा नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डे देखि कमेडियन हिमेश पन्त समेत चुनावी मैदानमा उत्रिएका छन् । धादिङ क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्यका लागि नेकपा एसका केन्द्रीय उपाध्यक्ष पाण्डे नेकपा एमाले धादिङका अध्यक्ष एवं निवर्तमान सांसद भूमी त्रिपाठी संग चुनावी मैदानमा रहेका छन् । २०७४ को निर्वाचनमा प्रतिनिधि सभामा त्रिपाठी र प्रदेश सभामा पाण्डे नेकपा एमालेबाट उम्मेदवार भएर विजयी भएका थिए । पाण्डे र त्रिपाठी संग धादिङका पुराना कम्युनिष्ट नेता उत्तमराज शर्मा कँडेल पनि प्रतिस्पर्धामा छन् । कँडेल स्वतन्त्र उम्मेदवार हुन।
यसैगरी यस क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टीबाट हिमेश पन्त, जनता समाजवादी पार्टीबाट नोरमान तामाङ, जन समाजवादी पार्टीबाट पुष्कर सेढाई, मंगोल नेशनल अर्गनाईजेशनबाट सुमन तामाङ, नेपाल मजदुर किसान पार्टीबाट विश्व अम्मर महर्जन पनि उम्मेदवार छन । यि बाहेक अन्य पाँच जनाले स्वतन्त्रबाट उम्मेदवारी दिएका भएपनि यस क्षेत्रमा मुख्य गरी राजेन्द्र पाण्डे र भूमी त्रिपाठीका बिच कडा प्रतिस्पर्धा हुने देखिएको छ । पाण्डेलाई सत्ता गठवन्धनको साथ रहेको छ भने त्रिपाठीलाई राष्ट्रिय प्रजाजत्त्र पार्टीले समर्थन गरेपनि सत्ता गठवन्धन र एमाले बिच यस क्षेत्रमा कडा टक्कर हुने देखिन्छ ।
पाण्डे र त्रिपाठी २०७४ को निर्वाचनमा तत्कालीन बाम गठबन्धनमा नेकपा एमालेका तर्फबाट निर्वाचित भएका हुन। यसपटक पाण्डे सत्तारुढ गठबन्धनबाट आफ्नै पुराना सारथी बिरुद्ध प्रतिस्पर्धामा छन्। क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्यका लागि गठबन्धनबाट नेपाली काँग्रेसका जिल्ला सभापति एवम पूर्व सांसद रामनाथ अधिकारी र नेकपा एमालेबाट निवर्तमान सांसद खेमप्रसाद लोहनी चुनावी मैदानमा उत्रिएका छन् । लोहनी २०७४ को निर्वाचनमा बाम गठबन्धनमा एमालेबाट विजयी भएका हुन् । २०५६ मा एमालेका उम्मेदवार गंगालाल तुलाधरलाई पराजित गर्दै प्रतिनिधि सभामा पुगेका अधिकारी त्यस पछि हरेक चुनावमा भने पराजित हुंदै आएकोमा यस पटक सत्ता गठवन्धनको सहयोगले सजिलै चुनाव जित्नेमा ढुक्क देखिन्छन् । जनजातीको बाहुल्यता रहेको यो क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टीले बसुमाया तामाङलाई उम्मेदवार बनाएको छ । पहिलो पटक चुनावको मैदानमा उत्रिएका बसुमायाले उत्साहजनक मत ल्याउने विश्वास गरिएको छ ।
यस क्षेत्रबाट नेपाली काँग्रेस (विपि) बाट शंकर दर्जी जनता समाजवादी पार्टीबाट मेकरमान तामाङ र मंगोल नेशनल अर्गनाईजेशनबाट धनमाया तामाङको उम्मेदवारी परेको छ । यि बाहेक दुर्गकुमार शाक्य, टिकानिधी काप्री, बाबुकृष्ण श्रेष्ठ, रमेश पौडेल, रुद्रवहादुर गेलाङ, सरोज बुढाथोकी, संजय दुवाडी र हरिप्रसाद घिमिरेको पनि स्वतन्त्रबाट उम्मेदवारी परेको छ । मनोनयन दर्तापछि मुख्य दलहरु आन्तरिक रुपमा पार्टी कार्यकर्ता संग भेट्घाट कार्यक्रम गर्दै पालिका स्तरीय कार्यकर्ता भेटघाट, चुनाव प्रचार प्रसार समिति गठन लगायतका चुनावी कार्यक्रममा दल र उम्मेदवारहरु लागेका छन् ।
प्रदेश सभा १ ख मा यस पटक पनि सत्ता गठवन्धनले माओवादी नेता शालिकराम जमकट्टेललाई अघि सारेको छ। जमकट्टेललाई भावी मुख्यमन्त्रीको रुपमा प्रस्ताव गर्दै माओवादी कार्याकर्ताले भोट मागिरहेका छन् । जमकट्टेल संग नेकपा एमालेका तर्फबाट इन्जिनियर गजेन्द्र थपलिया भिडदैछन् । थपलियालाई सजिलैं संग जित्न सक्ने सत्ता गठवन्धनको दावी छ । एमालेले भने यस पटक जनताले नयाँ व्यक्तिलाई साथ दिने बताएको छ । प्रदेशसभा २ (क) मा नेकपा एमालेले २०७४ मा विजयी पूर्वमन्त्री डाक्टर रामकुमार अधिकारीलाई अघि सारेको छ भने सत्ता गठवन्धनबाट नेपाली काँग्रेसका गोविन्द लम्सालले प्रतिस्पर्धा गर्दैछन् । लम्साल र अधिकारी मध्ये धेरैले अधिकारीलाई वलियो उम्मेदवारका रुपमा लिएका छन् । जिल्लामै सबै भन्दा थोरै उम्मेदवार यस क्षेत्रमा चुनावी मैदानमा छन् । सत्ता गठवन्धन र एमालेका उम्मेदवार बाहेक यस प्रदेश क्षेत्रबाट मंगोल नेशनल अर्गनाईजेशनका शालिकराम थापा र स्वतन्त्रबाट दयाराम लम्साल र खड्गकुमारी सापकोटाको उम्मेदवारी रहेको छ ।
धादिङ क्षेत्र नं २ प्रदेशसभा (ख)मा सत्ता गठवन्धनले यस पटक पनि माओवादी केन्द्रका जगतबहादुर सिम्खडालाई अघि सारेको छ भने एमालेको समर्थनमा राप्रपाका डम्बर तामाङ मैदानमा छन् । २०७४ को चुनावमा वाम गठवन्धनबाट सिम्खडा र काँग्रेस राप्रपा गठवन्धनबाट तामाङ बिच प्रतिस्पर्धा भएको थियो । अघिल्लो पटक जितेका सिम्खडा जित दोहो¥याउने र अघिल्लो पटक पराजित तामाङ यो पटक जित्ने योजनाका साथ अघि बढेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *