पहिलो जापान उडानमै १ करोड घाटा
१३ भदौ काठमाडौँ — जापानको ओसाकामा १२ वर्षपछि व्यावसायिक उडान प्रारम्भ गरेको नेपाल वायुसेवा निगमको वाइडबडी ४० जना यात्रु बोकेर बिहीबार साँझ काठमाडौं फर्किएको छ ।
निगमको विमान बिहीबार बिहान साढे २ बजे १ सय ४६ यात्रु लिएर जापानको ओसाकातर्फ उडेको थियो । जापानले नेपाललाई ओसाका र नारितामा सातामा १४ वटा उडान अनुमति दिएको छ ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार ३ सय यात्रु क्षमताको वाइडबडी विमानले जापानमा वार्षिक कम्तीमा २ लाख यात्रु एकतर्फी उडान गर्न सक्ने अनुमति नेपालसँग छ ।
निगमका कार्यकारी अध्यक्ष मदन खरेलले बुधबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित यात्रु बिदाइ कार्यक्रममा जापानमा वार्षिक ३५ हजार सिट बिक्रीको लक्ष्य राखेको बताए । निगमका सहप्रवक्ता सुलेख मिश्रले पुसदेखि निगमले नारितामा पनि उडान गर्न लागेको बताए । ओसाका राजधानी टोकियोदेखि ६ सय किलोमिटर दूरीमा पर्छ ।
यी दुई सहरको सडकयात्रा साढे ७ घण्टा हाराहारी पर्छ । निगमका अनुसार जापानमा कम्तीमा ८० हजार नेपाली रहेको अनुमान छ । यीमध्ये ४५ प्रतिशत हाराहारी टोकियो आसपास र ३० प्रतिशत हाराहारी ओसाका, नागोया, हिरोसिमालगायत सहरमा रहेकाले निगमले पुसदेखि नारिता उडान थाल्ने जनाएको छ ।
निगमले काठमाडौं–ओसाकाका लागि एकतर्फी हवाई भाडा ३७ हजार र दुईतर्फी ७२ हजार तोकेको छ । निगमका लागि जापानका कन्ट्री म्यानेजर सन्तोष पाण्डेका अनुसार निगमले उडान थाल्नुअघि जापान सिधा उडान नभएकाले हङकङ वा बैंकक हुँदै जानुपर्ने बाध्यता थियो । यसरी जाँदा एकतर्फी भाडा ४० देखि ६० हजार तथा दुईतर्फी ८० देखि ९० हजारसम्म पर्छ । विदेशी वायुसेवा कम्पनीले दसैंताका दुईतर्फी भाडा १ लाख रुपैयाँसम्म पुर्याउने गर्छन् ।
