सडक केन्द्रबाट १५ मिटर दायाँ–बाँया खाली गर्ने क्रम जारी
नौबिसे । धुनिबेशी नगर क्षेत्रमा सडक केन्द्रबाट १५ मिटर दायाँ–बाँया सडक खाली गर्ने क्रम जारी रहेको छ । डिभिजन सडक कार्यालय भरतपुर चितवनले धुनिबेशी नगरपालिका सँग समन्वय गरी मँगलबार देखी धुनिबेशी नगरपालिका ८ स्थित रेसमखेती मोडबाट सुरु भएको काम बिहिबार पनि जारी रहेको थियो । बिहिबार खानीखोला देखी सडक क्षेत्रमा सडक सिमा भित्र रहेका सँरचना वा निर्माण सामाग्री हटाउने काम भएको नगरपालिकाले जनाएको छ ।
सडक केन्द्र भित्र रहेका सँरचना, घर, टहरा वा कुनै पुर्वाधार निर्माण र निर्माण सामाग्री हटाउने काम जारी रहेको धुनिबेशी नगरपालिकाका प्रमुख बालकृष्ण आचार्यले बताउनुभयो । आचार्यले सडक केन्द्रबाट १५ मिटर दायाँ–बाँया सडक खाली गर्न अनुरोध भएपनि अधिकाँसले आग्रहलाई वेवास्ता गरेपछि जेसीभी लगाएर खाली गर्ने काम भैरहेको बताउनुभयो । धार्के सम्म अभियान जारी रहने नगरपालिकाले जनाएको छ ।
गत फागुन ३ गतेको नगर कार्यपालीकाको बैठकले फागुन मसान्त सम्म धुनिबेशी नगर क्षेत्रको सडक केन्द्रबाट १५ मिटर दायाँ बाँया सडकको क्षेत्रफल खाली गर्न सम्बन्धित सबैलाई अनुरोध गरेको थियो ।
डिभिजन सडक कार्यालय भरतपुर चितवनका ईन्जिनियर मधुसुदन साँखीले सार्वजनिक सडक ऐन २०३१ को दफा १९ मा सार्वजनिक सडक वा सडक सीमामा कुनै किसिमको काम गर्न नहुने उल्लेख भएको र सोहि अनुसार नै अभियान जारी रहेको बताउनुभयो ।
डिभिजन सडक कार्यालयले यस अघि गल्छि गाउँपालिकामा सडक केन्द्रबाट दाँया बाँया १५ मिटर खाली गरिसकेको र धुनिबेशी नगरपालिका पछि बेनिरोराङ गाउँपालिकामा यो अभियान सुरु गर्ने ईन्जिनियर साँखीले बताउनुभयो ।
