अमेरिकन दूतावासको सहयोगमा काठमाडौंकै पहिलो कन्या विद्यालय पुनर्निमाणको शिलान्यास
काठमाडौं, २८ वैशाख । काठमाडौंको पहिलो कन्या विद्यालय भवन पुनर्निमाणको शिलान्यास गरिएको छ । नेपालका लागि अमेरिकी राजदूत अलाइना बी. टेपलेट्ज र राष्ट्रिय पुनर्निमाण प्राधिकरणका कार्यकारी अधिकृत युवराज भुसालले शुक्रबार भवन निर्माण स्थल काठमाडौंको क्षेत्रपाटीमा एक विशेष समारोहका बीच शिलान्यास गरेका हुन् ।
शिलान्यास समारोहलाई सम्बोधन गर्दै राजदूत टेपलेट्सले अमेरिकी सरकारले बालबालिकालाई विद्यालय फर्काउने कार्यलाई प्राथमिकता दिइरहेको स्पष्ट पारिन् । ‘अमेरिकी सरकारको प्रतिवद्धतास्वरुप हामीले विपन्न समुदायको हितका लागि भूकम्पीय रुपमा सुरक्षित, सुविधायुक्त र बाल तथा अपाङ्गमैत्री विद्यालय तथा स्वास्थ्य चौकी निर्माणका गर्नका लागि राष्ट्रिय पुनर्निमाण प्राधिकरणसँग साझेदारी गरेका छौं, उनले भनिन्, ‘यसबाट अमेरिकी जनताको सुरक्षित नेपाल पुननिर्माणप्रतिको लामो दीर्घकालीन र जारी सहयोग प्रतिबिम्वित हुन्छ ।’

अमेरिकी सरकारले आफ्नो अन्तर्राष्ट्रिय विकास नियोग (युएसआईडी) मार्फत् भूकम्प प्रभावित जिल्लामा ३६ वटा पक्की विद्यालय तथा स्वास्थ्य चौकी भवन पुननिर्माण गर्नका लागि राष्ट्रिय पुननिर्माण प्राधिकरण, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रधालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग साझेदारी गर्ने कार्यक्रम रहेको अमेरिकी दूतावासले जनाएको छ । आजको कार्यक्रमसँगै काठमाडौं उपत्यकामा तीन माध्यमिक विद्यालयहरुको पुननिर्माण सुरु भएको छ । अन्य विद्यालयहरुमा साँखुस्थित आदर्श मावि र सानो ठिमीस्थित आदर्श मावि रहेका छन् ।
सन् २०२० मा पुनर्निमाणको कार्य पूरा हुने अपेक्षाा गरिएको कन्या मन्दिर माध्यमिक विद्यालयमा एक पटकमा ७०० जना छात्राले शिक्षा प्राप्त गर्न सक्नेछन् । पढाईलेखाईका तीन तल्ले भूकम्प प्रतिरोधी भवनमा २४ कक्षाकोठा, तीन प्रयोगशाला र एक पुस्तकालय रहने दूतावासले जनाएको छ ।
