“सम्पादकलाई चिठी”

Share it with you friends

-राजकुमार दिक्पाल

सम्पादकज्यू, 
आज एउटा सानो कुरा गर्नुछ तपाईंसँग !

हिजोआज भयाक्रान्त हुन्छु म
तपाईंको अखबारमा छापिने शब्दहरुसँग !
जसरी म तर्सन्थेँ
–सानो छँदा आमाले ‘पुलिस बोलाउँछु’ भन्दा या
कसैले भूतप्रेतको कथा सुनाउँदा ।

क्षमा पाऊँ
म तपाईंसँग डराइरहेछु आज !

कुनै बेला
तपाईंको अखबारको पर्खाईमा छटपटिन्थेँ
तर अहिले तपाईंको अखबार
भरसक पढ्न नपरोस भनेर
छटपटिन्छु म ।
किन यस्तो अनौठो अनुभूतिले सताइरहेछ
तपाईंको नियमित पाठकलाई आज ?

तपाईंसँग समय छ कि छैन सम्पादकज्यू,
तर आज एउटा सानो कुरा गर्नुछ तपाईंसँग ।

निभ्न लागेको आगोलाई बाल्नुपर्ने हो तपाईंले
तर बलेको आगो ताप्न थाल्नुभो तपाईं
– दुःखी भएँ म ।
सतित्व लुटिएकी चेलीहरु छटपटाइरहँदा
ब्लो अपमा छपिने सुन्दरीसँग डेटिङमा हुनुहुन्थ्यो तपाईं
–लज्जित भएँ म ।
यहाँ अन्यायविरुद्ध आवाज उठिरहँदा
चियर्स गरिरहनुभएको थियो, तपाईं शक्तिकेन्द्रहरुसँग
–विचलित भएँ म ।
यहाँ अग्र्यानिक बगैँचाहरु सुक्दै जाँदा
तपाईं बहुराष्ट्रिय कम्पनीको प्रवक्ता बन्नुभो
–सार्है विरक्त भएँ म ।
नदेख्दा सप्तरंगी इन्द्रधनुषी नेपाली अनुहार तपाईंको अखबारमा
–म रोएँ सम्पादकज्यू !

धन्य छ, सम्पादकज्यू !
तपाईंले त ‘गजब’को अजेण्डा सेटिङ गरिदिनुभयो
फेरि पनि धन्य छ, तपाईंको ‘ब्यावसायिक धर्म निर्वाह’ ।

तपाईं आफैले किन धुजा धुजा पार्नुभयो–
आफैले रचना गरेको ‘सत्य, तथ्य र निष्पक्ष’ स्लोगन
किन स्खलीत हुनुभयो आदर्शबाट
क्षमा गर्नुहोला, सम्पादकज्यू !
मनबाट आस्थाको हिमालचुली
ढलिरहेको अनुभूति भइरहेछ आज मलाई ।

तर पनि च्यातेर तपाईंको अखबार
‘प्रेस स्वतन्त्रता’ कुण्ठित गर्न चाहन्न म
र, चाहन्न म त्यसपछि पढ्न
तपाईंको सम्पादकीयमा पोखिने अरण्य रोदन ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *