आयोगको नजरमा नेकपा एउटै छ- आयुक्त पौडेल
काठमाडौं, १६ माघ । निर्वाचन आयोगले सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको आधिकारिकताबारे अहिलेसम्म कुनै निर्णय नभएको स्पष्ट पारेको छ ।
शुक्रबार केपी शर्मा ओली समूहका नेताहरूसँग छलफल गरेपछि आयोगले अहिलेसम्म कुनै पक्षले आधिकारिकता दाबी गर्दै निवेदन नदिएको स्पष्ट पारेको हो ।
उनले आयोगका नजरमा अहिले पनि नेकपा एउटै रहेको धारणा अगाडि सारे । नेकपाको अहिलेको विवादलाई उनले दाजुभाइले झगडा गरेको तर अदालतमा अंशमुद्दा नहालेजस्तो भएको उनको स्पष्टीकरण थियो ।
उनले भने, ‘दाजुभाइ झगडा गरेका छन्। एकले अर्कालाई गाली गरेको सबैलाई थाहा छ तर अदालतमा अंशमुद्दा नहालेसम्म त छुट्टिएको भन्न मिलेन ।’
चुनावका लागि छिट्टै पार्टी दर्ता गर्न लागेकाले आयोगले नेकपाका दुबै पक्षलाई बोलाएको बताउँदै उनले भने, ‘कुनै एउटा समूहलाई आधिकारिता प्रदान गरिएको छैन ।’
उनले भने, ‘आधिकारिताबारे कुन पक्ष भन्ने निर्णय गरिसकेको अवस्था होइन । नेकपाको दुइटा गुट भएपनि हामीलाई आधिकारिता देउ भनेर दफा ४४ को उपदफा १ अनुसार कुनै पनि गुट नआएको हुनाले आधिकारिकता दिने भन्ने प्रश्न आएन ।’
उनले अगाडि थपे, ‘दुवै पक्षले आधिकातिा हौं भनेर आउँदै नआएको अवस्थामा आयोगले पार्टी फुटाउँदै हिड्ने कुरा भएन ।’
