डोटीमा रहेका छाउगोठ हटाउन जिल्ला प्रशासन कार्यालयले उर्दी जारी
२०७६ पुस ११, शुक्रबार –डोटीमा रहेका छाउगोठ हटाउन जिल्ला प्रशासन कार्यालयले उर्दी जारी गरेको छ ।
डोटी जिल्लामा रहेका छाउगोठ हटाउन जिल्लाव्यापी अभियान चलाइने र महिनावारी भएका महिलालाई छाउगोठमा राख्नेलाई कारबाही गर्ने भन्दै प्रशासन कार्यालयले उर्दी जारी गरेको हो । जिल्ला सदरमुकाम सिलगढीमा छाउगोठ नभए पनि अधिकांश ग्रामीण क्षेत्रमा अहिले पनि छाउ बार्ने परम्परा र छाउगोठ रहेका छन् । प्रशासनले छाउगोठ भत्काउन सबै पालिकालाई पत्राचारसमेत गरेको छ । प्रहरी प्रशासनले डोटीका ग्रामीण क्षेत्रमा भएका छाउगोठको तथ्याङ्क संकलन गर्न सुरु गरेको छ । छाउपडी प्रथाका कारण सुदूरपश्चिममा अहिलेसम्म १२ जना महिलाले अकालमै ज्यान गुमाएका विभिन्न सङ्घ संस्थाको तत्थ्याङ्कमा उल्लेख गरिएको छ । महिनावारी भएकी महिला घरैमा बसे घरमा अनिष्ट हुने तथा देउता रिसाउने भन्ने अन्धविश्वासका कारण डोटीका ग्रामीण क्षेत्रमा अझै पनि छाउपडी प्रथा कायम रहेको केआईसिंह गाउँपालिकाका स्थानीय चेतराज भट्टले बताउनुभयो ।गृह मन्त्रालयले डोटीलगायत समग्र सुदूरपश्चिमका विभिन्न ठाउँमा रहेका छाउगोठलाई समुदाय, स्थानीय तह र प्रहरीको सहकार्यमा भत्काउन जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन दिएपछि छाउगोठ राख्ने तथा छाउगोठमा बस्न बाध्य बनाउनेलाई कारबाही गर्न थालिएको हो । जिल्ला प्रशासन कार्यालय डोटीले गएको बुधबार सार्वजनिक सूचना प्रकाशित गर्दै जिल्लाका कुनै पनि ठाउँमा छाउगोठ नराख्न आग्रह गरेको छ । ‘छाउगोठ नराख्न सूचना जारी गरेका छौँ, राख्नेलाई कारबाही हुने छ’, प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले भन्नुभयो,
