प्रचण्ड-माधवलाई संकेत गर्दै ओलीले भने- पिलो निचोरिएपछि आनन्द भएको छ
काठमाडौं, १५ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड र माधव नेपाललाई संकेत गर्दै पिलो निचोरिएपछि आनन्द भएको बताएका छन् । पार्टीनिकट ट्रेड युनियन महासंघ जिफन्टको काठमाडौंमा आयोजित राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले पार्टीभित्र बल्ल एकता पैदा भएको बताएका हुन् ।
‘यो पार्टी इतिहासमा अहिलेजस्तो एकताबद्ध र अनुशासित कहिल्यै पनि थिएन, ओलीले भने, त्यही पिलो टन्किरहेको रहेछ। पिलो निचोरिएपछि बल्ल आनन्द भएको छ ।’ प्रचण्ड-नेपालसहितको पार्टी पार्टीजस्तो गएगुज्रेको, भद्रगोल, अनुशासनहीन कुनै पार्टी नभएको उनले बताए ।
उनले अगाडि थपे, ‘रोल्पादेखि सिराहासम्म भ्याइसक्नुभो अब कहाँ जानुहुन्छ ? भेलामा सहभागीले ‘जंगल’ भनेपछि ओलीले अगाडि थपे, उहाँ पहिले पनि कहाँ जंगलमा बस्नुभएको थियो र? जंगलमा अरूलाई बसाउनुभो आफूहरू जेलवाला तेलले जुल्फी कोरेर दिल्ली बस्नुभो ।’
उनले अब पार्टीभित्र महान शुद्धीकरण अभियान चलाउने बताए । चुनावमार्फत आफ्नो विचार जनअनुमोदित हुने उनको तर्क थियो । उनले प्रचण्डहरुले सूर्य चिन्हको माया भए नेकपामा फर्कनुपर्ने बताए ।
पार्टी एकता गर्दा ओली मर्छ भन्ने चाहना राखेको सुन्न आएको उनले बताए । ‘मेरो बुवा अझै बुढो बुढो हुँदै हुनुहुन्छ, मेरो कुरा गर्ने । मर्न त सबै मर्छन् ।’
