सिरियामाथि अमेरिकाको आक्रमण, आवश्यक परे फेरि आक्रमण गर्ने चेतावनी
काठमाडौँ,२ वैशाख । अमेरिकाले आवश्यक परेमा सिरिया विरुद्ध फेरि आक्रमण गर्ने जनाएको छ । अमेरिकाले रासायनिक हतियारको प्रयोग निस्तेज पार्न फेरि पनि आवश्यक्ता परे आक्रमण गर्ने जनाएको हो । संयुक्त राष्ट्र संघमा अमेरिकी राजदूत निक्की हेलीले सिरिया सरकारलाई कुनै पनि हातलमा रासायनिक हतियार प्रयोग गर्न नदिने अमेरिकाको नीति भएकाले फेरि आक्रमण गर्न सक्ने बताउनुभयो ।
सिरियाका राजदूत बसर जाफरीले अमेरिका, बेलायत र फ्रान्स झुठा र आडम्बर भएका बताउनु भएको छ । उहाँले प्रश्न गर्दै भन्नुभयो ः ‘के सिरियामाथि हमला गर्न तपाईहरुको सरकारले अन्तराष्ट्रिय समुदायबाट जनादेश हासिल गरेको थियो ।
मेरा साथीहरु (अमेरिका, बेलायत र फ्रान्स)ले सिरियाको रासायनिक हतियार बनाउने क्षेत्रमा आक्रमण गरेको दाबी गरेका छन् तर यसको हो भने, उनीहरुलाई सबै कुरा थाहा थियो भने, रासायनिक हतियारको केन्द्र बनाएको बेलामा उनीहरुले किन अर्गनाइजेशन फर प्रोहिबिशन अफ केमिकल विपेन्सलाई जानकारी गराएनन ।
यस्तै रुसले पनि सिरिया विरुद्ध भएको आक्रमणको विरोध गरेको छ । रुसले अन्तराष्ट्रिय कानुनको उल्लंघन गर्दै सिरिया विरुद्ध गुण्डागर्दी शैलीमा हमला भएको दाबी गरेको छ ।
सिरियामाथि अमेरिका बेलायत र फ्रान्सले मिसाइल आक्रमण विरुद्ध राष्ट्र संघको सुरक्षा परिषद्मा समर्थन जुटाउन रुस असफल भएको छ । अमेरिकाले सिरियामा सैन्य आक्रमण गरे पछि राष्ट्र संघको सुरक्षा परिषद्को बैठक बसेको हो । सिरियामा सैन्य आक्रमण गर्न अमेरिकालाई बेलायत र फ्रान्सले पनि साथ दिएका थिए ।
