काठमाडौंमा निषेधाज्ञा एकसाता लम्बिँदै, थप कडाइ गर्ने प्रशासनकाे तयारी

Share it with you friends

काठमाडौं । कोरोनभाइरस महामारी रोकथामका लागि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा एकसाता थप्ने तयारी भएको छ ।

भाइरस संक्रमणदर र मानवीय आवतजावत पनि नघटेकाले एक साता थप्ने तयारी भएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले जानकारी दिए ।

मंगलबार बस्ने उपत्यकास्थित तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरका सीडीओहरुको बैठकले निषेधाज्ञा थप्ने निर्णय गर्नेछ । साथै, थप आदेशहरु जारी गर्ने तयारीमा जिल्ला प्रशासनहरु छन् ।

‘संक्रमणदर पनि घटेन र मान्छेको आवतजावत पनि निरन्तर देखिएकाले निषेधाज्ञामा कडाइ गर्दै एकसाता थप्ने हाम्रो तयारी छ’

सरकारले गतसाता ल्याएको कोभिड–१९ संकट व्यवस्थापन अध्यादेशको पनि प्रभावकारी कार्यान्वयन गर्नुपर्ने भएकाले निषेधाज्ञालाई कडाइका साथ थप्ने पराजुलीले जानकारी दिए ।

‘अध्यादेशमा उल्लेख भएका प्रावधानलाई कार्यान्वयनमा लैजाँदै अत्यावश्यक कामबाहेक घरबाहिर निस्कन नदिने, अनावश्यक हिँड्डुल गर्नेलाई होल्डिङ गर्ने र मास्क नलगाउनेलाई जरिवाना गर्ने कुरालाई कडाइका साथ कार्यान्वयन गरिनेछ’ सीडीओ पराजुलीले भने ।

निषेधाज्ञालाई थप कडाइ बनाउने तयारीमा जिल्ला प्रशासनहरु छन् । गृह मन्त्रालयले शनिबार तीनैवटा सुरक्षा निकाय र सबै जिल्ला प्रशासनलाई परिपत्र गर्दै मानिसहरुलाई घर बाहिर निस्कन नदिन र निषेधाज्ञालाई कडाइ गर्न निर्देशन दिएको थियो ।

अहिले जारी भएको काठमाडौं उपत्यकाको निषेधाज्ञा जेठ १३ गते मध्यरातमा सकिँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *