त्रिशुलीमा ट्रक खस्यो
चितवन, २६ असोज । धादिङबाट मुग्लिङतर्फ जाँदै गरेको मिनिट्रक त्रिशुली नदिमा खसेको छ । पृथ्वी राजमार्ग अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–३, मौवाखोलानजिक तरकारी बोकेको मिनिट्रक अनियन्त्रित भएर त्रिशूली नदीमा खसेको हो । गए राति धादिङबाट मुग्लिङतर्फ जाँदै गरेको प्र ३–०१–००६ ख १३८२ नम्बरको मिनि ट्रक आफैँ अनियन्त्रित भई सडकबाट करिब ३० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
सो दुर्घटनामा परि ट्रक चालक धादिङको बेनिघाट रोराङ गाउँपालिका–९ बस्ने २६ वर्षीय दिपेश तामाङ घाइते भएका छन् । घाइते तामाङको चितवन स्थित भरतपुरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजयराज पण्डितले बताउनुभयो । ट्रकका सहचालक बेनिघाट रोराङ–८ बस्ने २० वर्षीय आकाश चेपाङलाई सामान्य चोट लागेको उनले बताए । चेपाङको स्थानीय अस्पतालमा उपचार भइरहेको छ भने मिनिट्रक घटनास्थलमा नै रहेको प्रहरीले जनाएको छ । रासस
